रौतहट २७ भदौ ।
नक्कली नेपाली नोटको कारोबार गरेको आरोपमा बारा र रौतहटबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । भारतमा नोट बनाई नेपालमा सोही नोटको कारोबार गर्ने काममा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका प्रहरीले जनाएको छ । बाराको निजगढबाट ४ जना र रौतहटको चन्द्रनिगाहपुरबाट १ जना गरि ५ जना नक्कली र सक्कली नोटसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । रौतहटमा पक्राउ परेका १ जनालाई पनि बारा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । पक्राउ परेकाहरुको साथबाट नेपाली एक हजार दरका नक्कली र सक्कली नोट गरी झण्डै ९३ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कलैया बारामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।