सुनसरी २४ असाेज ।
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ। पीडितका आफन्तसहित भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप भएको छ। ढुङ्गामुडापश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न ढी अश्रुग्यास प्रहार गरेको छ।
झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन्। प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै शव नबुझ्ने बताएका छन्।
उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए। उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताए।
झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ। कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए। पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति भएको बताएका छन्। उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन्।