रौतहट १९ बैशाख ।
रौतहटको माधवनारायण नगरपालिकाले एक सय भन्दा बढि जेष्ठ नागरिकलाई सम्मान गरेको छ।
माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिकाका १ सय ३० जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन्।
माधवनारायण नगरपालिकाले एक कार्यक्रम मार्फत पालिकाभित्रका १३० ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला गरेर सम्मान गरेको हो ।
माधवनारायण नगरपालिका -६ माधोपुर स्थित शुक्रबार आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा नगर प्रमुख यादवले नगरभरिका ८५ वर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
माधवनारायण नगरपालिका कार्यालयले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा नगर प्रमुख बैजनाथ प्रसाद यादवले प्रत्येक बृद्धबृद्धा अर्थात् जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै विभिन्न प्रकारका सामग्री समेत प्रदान गरेका हुन्।
नगरपालिकाका वडा नं.१ देखि ९ नम्बर वडाका ८५ वर्ष नाघेका १ सय ३० जना जेष्ठ नागरिकलाई दोसल्ला सहित एकएक थान टर्च लाईट, झुल, बिस्कुट, च्यामन् परास लगाएतका सामग्री प्रदान गरिएको माधव नारायण नगर प्रमुख यादवले बताए।
ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सांस्कृतिक, नैतिक र व्यावहारिक सबै पक्षले उचित रहेकोले आफूले उनीहरुलाई पालिकाको तर्फबाट सम्मान गरेको मेयर बैजनाथ प्रसाद यादवले बताए।
वृद्धवृद्धाहरूमा एक–आपसमा मनका भावना, विगतका सम्झनालाई ताजा गराउन र नयाँ पिँढीलाई परम्परागत संस्कृति हस्तान्तरण गर्न पालिकाभित्रका ज्येष्ठ नागरिकलाई भेला गराई सम्मान गरेको उनको भनाइ छ।
उनले भने, ‘ज्येष्ठ नागरिकसँग मानव मूल्य र मान्यता, सांस्कृतिक तथा सामाजिक सभ्यताको दरिला सम्बन्ध कायम रहेको हुन्छ । समाजको हरेक विकासको गति र तीव्रतामा पनि ज्येष्ठ नागरिकको भूमिका अतुलनीय रहँदै आएको छ ।’
एउटा उदाहरणीय र सहयोगी समाजलाई बढावा दिनका लागि पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्नु अति आवश्यक रहेको उनले बताए।
उनले अघि भने,’ज्येष्ठ नागरिकसँग वर्षौंको परिश्रम र अनुभवबाट आर्जित ज्ञानको भकारी हुन्छ । सामान्य जीवन जिउने तरिकादेखि कृषि, पूर्वाधार, शैक्षिक, व्यवस्थापकीय आदि ज्ञान र अनुभव हुन्छ । यसलाई मार्गदर्शनका रूपमा उपयोग गर्न सकियो भने सबैलाई फाइदा नै हुन्छ ।’
‘ज्येष्ठ नागरिकले आफ्नो समग्र जीवनमा केही न केही गरेर समाजमा महत्वपूर्ण योगदान दिएकै हुन्छन् । उनीहरूको विगत र वर्तमानका योगदानलाई उचित मूल्याङ्कन गरी सम्मान गर्नाले सबैमा सकारात्मक कृतज्ञताको भावना बढ्छ । समाजमा सकारात्मक प्रभावलाई स्वीकार गर्ने परिपाटीको विकास हुन्छ, ‘उनले भने ।,
उनले अघि भने, ‘कतिपय ज्येष्ठ नागरिकले युवा पुस्ताका लागि प्रेरणा र नमुनाका रूपमा काम गरिरहेका हुन्छन् । उनीहरूको लगनशीलता, लचिलोपन र चुनौतीहरू पार गर्ने क्षमताले अरूलाई पनि प्रेरणा र मार्गदर्शन प्रदान गर्न सक्छ ।’
यस्ता ज्येष्ठ नागरिकलाई आदर, सम्मान गर्दा जीवनको बहुमूल्य पाठ एक अर्कामा प्रसारण गर्ने अवसर बढ्दै जाने र परिवार तथा समुदायमा एकता, शान्ति, मेलमिलापको भावना बढने भएको हुनाले नगरका जेष्ठ नागरिकलाई सम्मान गरिएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताए।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा माधवनारायण नगर उपप्रमुख निर्मला देवी रमण, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, ६ नम्बर वडाका वडा अध्यक्ष रामनरेश राय, वडा नम्बर ७ का वडा अध्यक्ष योगेन्द्र प्रसाद कुशवाहा, लगाएतका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो।