माधवनारायण नगरपालिकाका नवनिर्वाचित मेयर बैजनाथ प्रसाद यादवले पदभार ग्रहण ।

रौतहट १२ जेठ ।
रौतहटको माधवनारायण नगरपालिकाका नवनिर्वाचित मेयर बैजनाथ प्रसाद यादवले बुधवार पदभार ग्रहण गरेका छन ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकाबाट माधवनारायण नगरपालिकाको मेयरमा निर्वाचित यादवले पदभार ग्रहण गर्दै बुधवारदेखी कार्यभार सम्हालेका हुन ।
कार्यभार सम्हालदै नगर प्रमुख यादवले नगरपालिकाको आफनै प्रशासनिक भवन निर्माण प्रकृया अगाडि बढाउने निर्णय गरेका छन् ।
आफना पहिलो नीति तथा कार्यक्रममा नगर कार्यपालिका कार्यालयको प्रशासनिक भवन निर्माणका लागि आवश्यक पर्ने बजेट छुटयाउने योजना रहेको उनले बताए ।
संघीय गणतान्त्रिक प्रणालीअनुसार स्थापित स्थानीय तह सञ्चालनको ५ वर्ष पूरा भएको छ ।
स्थापनाको ५ वर्ष पुग्दापनि माधवनारायण नगरपालिकाले आफ्नै प्रशासनिक भवन अझै बनाएका छैनन् ।
स्थानीय स्तरबाट जनतालाई सेवा दिने र विकास निर्माणका काम गर्ने नगरपालिकाले नै आफ्नै प्रशासनिक भवन बनाउन सकेका छैनन् ।
आफनो भवन नहुँदा विगत पाँच वर्षदेखी भाडाको घरबाट सो नगरपालिका कार्यालय सञ्चालन हुँदै आएको छ ।
मासिक हजारौँ रुपैयाँ भाडामा तिर्दै आएका पालिकाले अहिलेसम्म भवन निर्माण गर्न पुग्ने बराबरको रकम भाडामै खर्चेका छन् ।
भाडाको घरबाट सञ्चालनमा रहेको सो नगरपालिका कार्यालय सञ्चालनका लागि पर्याप्त कोठा नहुँदा एउटै कोठाबाट विभिन्न शाखाका सेवाहरु प्रवाह गर्दा सेवाग्राहीको अत्याधिक भिडभाड हुदै आएको छ ।
अत्याधिक भिडभाडको कारणले सेवाग्राहीहरुलाई सहज एवं सरल ढंगले सेवासुविधा उपलब्ध गराउन निकै कठिनाई भएको अवस्था देखेपछि आफु मेयरको कार्यभार सम्हालनै वित्तिकै सबभन्दा पहिला नगरपालिकाको आफनै प्रशासनिक भवन निर्माण प्रकृया अगाडि बढाउने निर्णय गरेको नवनिर्वाचित मेयर बैजनाथ प्रसाद यादवले बताएका छन ।
नगरपालिकाको आफनै स्वामित्वको जग्गामा चाडै भवन निर्माण कार्य अगाडि बढाउने उनले बताए ।
यसैविच माधवनारायण नगरपालिकाका निर्वाचित मेयर बैजनाथ प्रसाद यादवले उपमेयर निर्मला देवी जयसवाल सहित नगरका प्रत्येक वडाका वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन ।
नगर कार्यपालिकाको कार्यालय माधोपुरको प्रांगनमा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित पालिका उपप्रमुख सहितका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउँदै नगर प्रमुख यादवले जनताको मर्म र भावना अनुसारको काम गर्न नवनिर्वाचित जनप्रतिनिहरुलाई आग्रह गरेका थिए ।
उनले पार्टी, जाति र व्यक्तिगत एजेण्डा भन्दा माथी उठेर कसैको पक्ष विपक्षमा नगई निस्वार्थ भावनाले जनताको मत जित्ने गरी कार्य गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गरेका हुन ।
उनले जनताले विकास निर्माण लगाएत कार्यको अनुभूति गर्ने गरी भूमिका निर्वाह गर्न आग्रह गरे ।

लोकप्रिय