बौधिमाइ नगरपालिकाका छात्राहरुलाई साईकल वितरण ।

रौतहट ०९ असाेज ।
रौतहट जिल्लाको बौधिमाइ नगरपालिकाका नगर प्रमुख राजिव रन्जन यादवले छात्राहरुलाई साइकल वितरण गर्नुभएको छ ।
जनता समाजवादी पार्टी उपेन्द्र यादव समुहका प्रभावशाली युवा नेता तथा नगर प्रमुख यादवले “ प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल प्रदान गर्नु भएको छ ।
कोरोना भाइरसलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम राख्दै नगर प्रमुख यादवले भिन्ना भिन्नै कार्यक्रमका बीच आफ्नो नगर भरिका विद्यालयमा कक्षा ९ मा अध्ययनरत सयौं छात्राहरुलाई साइकल वितरण गरेका हुन ।
बौधिमाइ नगरपालिकाका श्री शारदा माध्यमिक विद्यालयको आयोजनामा पिपरिया टोलको बिभिन्न आधारभुत विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल प्रदान गर्नु भएको हो । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै बौधिमाइ नगरपालिका नगर प्रमुख राजिव रन्जन यादवले यस कार्यक्रमले टाढा टाढाबाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो । विद्यालयमा छात्राहरुलाई पढाईप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।
महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेर प्रदेश सरकारले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो ।
उहाँले प्रदेश सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको समेत बताउनु भयो ।

सो कार्यक्रमको प्रमुख अतिथि बौधिमाइ नगरपालिका नगर प्रमुख राजिव रन्जन यादव , उप प्रमुख प्रेमलाता कुशवाहा, वडा अध्यक्ष हृदय नारायन यादव, श्री शारदा माध्यमिक बिधालयको प्र .अ. लगायत बिभिन्न पार्टीका कार्यकार्ताहरुको उपस्थितिमा सो कार्यक्रम भएको हो।

लोकप्रिय