रौतहट १९ पुष ।
लगातारको शीतलहर, बाक्लो हुस्सु तथा कुहिरोका कारण चिसो तीव्र रूपमा बढेपछि रौतहटको गरुडा नगरपालिकाले नगरबासीलाई लक्षित गर्दै दाउरा वितरण कार्यक्रम सञ्चालन गरेको छ।
करिब दुई सातादेखि जारी कठ्याङ्ग्रिने चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले नगरका विभिन्न स्थानमा आगो ताप्नका लागि दाउरा वितरण गर्न थालेको हो।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवालले शीतलहरबाट नगरबासीलाई जोगाउने उद्देश्यले राहतस्वरूप दाउरा वितरण कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अत्यधिक चिसोका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्ग बढी प्रभावित भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर दाउरा वितरण भइरहेको छ।
नगर प्रमुख जयसवालले चिसो मौसम रहँदासम्म नगरका विभिन्न वडामा आगो ताप्न आवश्यक दाउरा वितरण गर्ने अभियान निरन्तर जारी रहने पनि बताउनुभयो।

