रौतहट ११ चैत ।
जिल्लाको यमुनामाई गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा राम श्रेष्ठ यादव आएपछि विकास निर्माणका कामले तीव्रता पाएको छ। उहाँको आगमनसँगै गाउँपालिकामा पारदर्शिता कायम गर्न अनलाइन प्रणालीमार्फत टेन्डर प्रक्रिया अगाडि बढाइएको छ। गाउँपालिकाले खुला प्रतिस्पर्धामार्फत विभिन्न विकास योजनाहरूका लागि टेन्डर आह्वान गरेको छ। जसअन्तर्गत करिब ६ करोड ५० लाख रुपैयाँको लागतमा सडक ढलान तथा नाला निर्माण कार्य र ६३ लाख रुपैयाँको लागतमा ह्याण्डपाइप जडान कार्य अघि बढाइएको छ। अनलाइन टेन्डर प्रणालीको प्रयोगले काममा पारदर्शिता, प्रतिस्पर्धा र गुणस्तर सुनिश्चित हुने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले पनि यस कदमको स्वागत गर्दै विकास निर्माणका कामहरू प्रभावकारी र गुणस्तरीय रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। गाउँपालिकामा यस प्रकारको खुला र पारदर्शी प्रक्रियाबाट गरिएको कामले इतिहासमै उदाहरणीय कामको रूपमा स्थापित हुने स्थानीयहरूको धारणा रहेको छ। राम श्रेष्ठ यादवको नेतृत्वमा भएका यी पहलहरूले गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

साथै, यमुना माई उँपालिकाका अध्यक्ष मोहम्मद सउदले पनि राम श्रेष्ठ यादवको नेतृत्वको प्रशंसा गर्दै उहाँको जनताको कामका लागि दिनरात मेहनतलाई सराहनीय बताएका छन्।

