रौतहट ०८ बैशाख ।
बाराको प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले चुनावी प्रचारप्रसारको क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।अध्यक्ष गुप्ताले चुनावी प्रचारप्रसारको क्रममा भारतीय नम्बरको गाडी प्रयोग गरी निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेका छन् । उनले चुनावी प्रचारप्रसारको क्रममा बीआर २२ पी ९२५९ नम्बरको भारतीय स्कोरपियो गाडी प्रयोग गरेको पाइएको हो ।
आगामी बैशाख ३० गते हुन लागको स्थानीय निर्वाचनको लागि निर्वाचन कार्यालयद्वारा जारी आचारसंहितामा चुनावी प्रचारप्रसारका अनुमति दिदाँ विदेशी सवारी साधनलाई अनुमति दिइने छैन भन्ने उल्लेख छ । तर अध्यक्ष गुप्ताले आचारसंहितालाई ठाडो चुनौती दिदैं खुल्लम खुल्ला विदेशी सवारी साधन प्रयोग गरी चुनावी प्रचारप्रसार गरेका छन् ।
अध्यक्ष गुप्ताले लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रसौनी गाउँपालिकाको अध्यक्ष पदमा पुनः उमेदवारी दिदैंछन् ।
गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उमेदवारी दिएका गुप्ता अध्यक्ष पदमा विजयी भएका थिए ।
चुनावी प्रचारप्रसारको क्रममा विदेशी गाडी किन प्रयोग गरेको भन्ने सम्बन्धमा अध्यक्ष गुप्तासँग प्रतिक्रिया माग्दा उनले थाहा नपाएका विदेशी गाडी प्रयोग हुन पुगेको र प्रयोगमा आएका सबै गाडी फिर्ता गर्ने प्रतिक्रिया दिए ।
उता, बाराका प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन समितिका संयोजक कृष्ण बहादुर कटुवालले कुनै पनि दल र तिनका उमेदवारले निर्वाचन आचारसंहिताको उल्लघंन गर्दै चुनावी प्रचारप्रसारमा विदेशी गाडी प्रयोग गरेको सम्बन्धमा उजुरी परे तुरुन्त कारवाही गरिने जनाए । यस्तै, निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा निगरानी बढाइएको प्रजिअ कटुवालले बताए ।