रौतहट २६ पुष ।
रौतहटकाे सदरमुकाम गौरमा अवस्थित प्रादेशिक अस्पतालमा पछिल्लो समय सुधारका प्रारम्भिक संकेतहरू देखिन थालेका छन्। जिल्लाको प्रमुख सरकारी अस्पतालका रूपमा रहेको यस प्रादेशिक अस्पतालको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हालेपछि अबधेश यादवको सक्रियता बढेसँगै अस्पतालको समग्र अवस्था पहिलेको तुलनामा सुधारोन्मुख देखिएको हो।
अस्पतालको सरसफाइ, आन्तरिक व्यवस्थापन तथा सेवा प्रवाहका क्षेत्रमा उल्लेख्य सुधार देखिन थालेको छ। विशेषगरी अस्पताल परिसरको स्वच्छता, कर्मचारीहरूबीचको समन्वय र सेवाग्राहीप्रति देखिएको जिम्मेवारीले अस्पतालप्रतिको जनविश्वास बढ्दै गएको स्थानीयले बताएका छन्।
अध्यक्ष यादवले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूसँग निरन्तर छलफल, अन्तरक्रिया र सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढेका कारण सुधार सम्भव भएको बताइएको छ। उहाँले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा थप सुधारका कामहरू गरिने प्रतिवद्धता पनि जनाउनुभएको छ।
अस्पतालमा उपचारका लागि आवश्यक औषधि तथा सामग्रीको आपूर्ति चुस्त-दुरुस्त बनाउनु पर्ने, नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधि समयमै प्राप्त हुने व्यवस्था मिलाउनु पर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिरामीप्रति गम्भीर र जिम्मेवार भएर उपचारमा लाग्नु पर्ने विषयमा अध्यक्ष यादवले विशेष ध्यान दिइरहेका छन्।
यसै क्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष यादवलाई सेवाग्राहीको हितमा थप सुधारका लागि सरसफाइ, स्वच्छ वातावरण निर्माण, नियमित अनुगमन, कर्मचारीसँग निरन्तर संवाद र व्यवस्थापन पक्ष मजबुत बनाउनुपर्ने सम्बन्धमा सुझाव समेत दिइएको छ।
अध्यक्ष यादवले अस्पताल मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील संस्था भएकाले सबै सरोकारवालासँग राय, सल्लाह र सुझाव लिँदै अस्पतालको सेवा स्तर अझै सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको नेतृत्वमा प्रादेशिक अस्पताल गौरले आगामी दिनमा अझ व्यवस्थित र सेवामुखी अस्पतालको रूपमा पहिचान बनाउने अपेक्षा गरिएको छ।

